काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
एमालेका उम्मेवार जीवन रोकाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो ।
वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका घर्तीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उप निर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार क. जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
रुकुम पूर्वको पुथाउत्तरगंगामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गर्दै उम्मेदवारी दिएका छन् । जस अनुसार गाउँपालिका उपाध्यक्षमा एमालेकी केशकुमारी तुलाचनले कांग्रेसको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकी छिन ।
त्यस्तै वडा नं. २ मा पनि एमालेका रोकाले उम्मेदवारी दिएका थिए भने कांग्रेसले सर्मथन गरेको थियो । उनले किन उम्मेदवारी फिर्ता लिए भन्ने खुलिसकेको छैन ।