काठमाडौं । काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद तथा पूर्वमन्त्री रामवीर मानन्धर एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावका उम्मेदवार घोषणा कार्यक्रम मार्फत एमालेमा फर्किएका मानन्धरले एमालेलाई जिताउने घोषणा गरेका छन् ।
मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका मानन्धर २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जितेका थिए । पछिल्लो २०७९ को चुनावमा टिकट नपाएपछि घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
दुई पटक सोही वडाको वडाध्यक्ष भएका स्थानीय नेता मानन्धरको फिर्तीले एमालेलाई उपचुनावमा ठूलो मद्दत पुग्ने स्थानीय नेताहरुले बताएका छन् । सो वडामा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएर घरदैलो थालिसकेको छ ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त स्थानमा हुन लागेको उपचुनावमा कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ । सो वडाका ४ सदस्य एमालेका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलााई उम्मेदवार बनाउने निर्णयमा असहमति जनाउँदै मानन्धर एमालेबाट निस्क्रिय बसेका थिए ।
सोमबार नयाँ बजारमा आयोजित १६ नम्बर वडाको उम्मेदवार घोषणा सभामा एमाले नेताहरु डा. राजन भट्टराई, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पूर्वमेयर विद्यासुन्धर शाक्य, रामवीर मानन्धरलगायतका नेताले सम्वोधन गरेका थिए ।