काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सरकारविरुद्ध देशभरि नै आन्दोलन गर्ने भएको छ ।
आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले मंसिर महिनाभित्रै सबै पालिकामा खबरदारी सभा गर्ने निर्णय गरेको एक नेताले बताएका छन् ।
प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेपछि सत्ताबाट वाध्य भएर बाहिरिएको माओवादी सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन लागेको हो ।
सरकारले भ्रष्टाचारी र बिचौलियालाई जोगाउन र विपक्षीलाई निशाना बनाउँदै हिँडेको आरोप लगाएको माओवादीले अहिलेको सरकार अधिनायकवादी र तानाशाही बन्दै गइरहेको दावी गरेको छ । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको भन्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
उनले जनजीविकाको सवालमा पनि सरकार चुकिरहेको निष्कर्षसहित खबरदारी सभा देशव्यापी विस्तार गर्ने योजना बनाएको बताए ।
जनजीविकाको सवालमा सरकार चुकिरहेको भन्दै सापकोटाले सरकार चुकेको कुरा माओवादीले मात्रै नभई सत्तारुढ दलका नेता शेखर कोइराला लगायत नेताहरूले पनि भन्न थालेको बताएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना बनाइएको वैठकले जनपरिचालन गर्दै मंसिर मसान्तसम्म खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
त्यसतै माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यबारे छलफल गर्ने भएको छ । समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् ।
२०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उसले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । हाल यो मोर्चा निष्कृयसमेत छ ।