सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताइन् ।
तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताए । उनले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाई बिशेष धन्यबाद दिइन् ।
समापन समारोहलाइ सम्बोधन गर्दै वडा अध्यक्षहरुको तर्फबाट नगर प्रबक्ता समेत रहनु भएका वडा नं ८का अध्यक्ष बिमल प्रसाद पौडेलले यो तालीमबाट सबै सदस्यहरुले आफ्नो जिम्मेवारीको बारेमा जानकारी पाएको र नगरपालिकाको हरेक कार्यक्रमको जिम्मेवारी बराबर भएकाले हरेक कार्यक्रमको जवाफदेहीता का लागि पनि सबै एक भएर लाग्न पर्ने भएको बताए ।
तालिममा बाह्रबिसे नगरपालिका वडा नं. १ देखी ९ सम्मका वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य लगायत नगरपालिकाको सामाजिक विकास शाखाको कर्मचारी समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक ठाकुर राम चौलागाईले तालिममा नेतृत्व विकास, महिला समावेशीकरणमा रहेका कानुनी व्यवस्था, स्थानिय सरकार सञ्चालन ऐनका मुख्य व्यवस्था,स्थानिय तहको विधायिकि अधिकार र कार्यप्रणाली, वडा कार्यलयको काम, कर्तव्य र अधिकार, संजाल निर्माणको प्रक्रिया र व्यवस्था समेतको छलफल गरिएको र यसबाट स्थानिय जनप्रतिधिलाई कार्य गर्न सहज हुने बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलयको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, अधिवक्ता पवित्रा राउत समेतले सहजिकरण गरेका थिए ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, सुनकोशी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, ईन्द्रावती गाउँपालिकामा यसअघि नै तालिम संचालन भईसकेकोले यस नगरपालिकामा पनि आवश्यकता महसुस भएकोले तालिमको संचालन गरिएको कार्यक्रमका अध्यक्ष कमलको फुल महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष सिता पौडेलले बताए ।
कार्यक्रमले २०८४ आम निर्वाचनमा महिला पहिला भन्ने नारा साकार पार्न स्थानिय महिला जनप्रतिनिधिको क्षमता विकास गर्नुपरेको बताए । कार्यक्रमका सहभागीहरुले तालिम अत्यन्तै प्रभावकारी भएकाले तालिमले कार्य गर्न सहज हुने बताए । ‘हामी त निर्वाचन पछि भुमिका नै छैन कि भनेको हाम्रो पनि महत्वपूर्ण भूमिका हुने रहेछ अबका दिनमा हाम्रो भूमिका निर्वाह गर्न प्रतिबद्ध छौ तालिमका सहभागी गेद कुमारी कार्कीले बताइन् ।