काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार कतारको दोहा पुगेका छन्।
अजरबैजानको राजधानी बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल आइतबार दिउँसो अजरबैजान प्रस्थान गरेका थिए।
यही कात्तिक २६ गतेबाट सुरु हुने सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ। राष्ट्रपति पौडेललाइ दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईलगायत दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।
सो भ्रमण दलमा राष्ट्रपतिपत्नी सविता पौडेल, राष्ट्रपतिका विज्ञ–सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ। भ्रमण दलका सदस्य वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी भने बाकु पुगिसकेका छन्।
राष्ट्रपति पौडेल सोमबार दोहाबाट अजरबैजानको बाकु प्रस्थान गर्नेछन्। कोप–२९ सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै सत्रको आयोजना गर्ने कार्यक्रम छ। (रासस)




















