काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।
संयन्त्रमा दुई दलका तीन–तीन नेता रहको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जानकारी दिए। उनले आज नै संयन्त्र निर्माण गरी बैठक बसेको बताए।
भट्टराईका अनुसार कांग्रेसका तर्फबाट कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङ र पार्टीका बागमती प्रदेश उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज डा भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र बागमती प्रदेशमा एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया रहेका छन्।
बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्न निर्देशन दिएको डा भट्टराईले जानकारी दिए। बैठकले संयन्त्रको बैठकको दुई दलले एक—एक महिना पालैपालो संयोजन गर्ने र मङ्सिर मसान्तसम्मको बैठकको संयोजन कांग्रेसले गर्ने सहमति भएको छ।
यस्तै, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र एमालेका तर्फबाट एक—एकजना रहने, संयन्त्रको बैठक महिनाको कम्तीमा एकपटक अनिवार्य बस्ने र आवश्यकताअनुसार थप बैठक बस्न सक्ने निर्णय गरेको छ।
दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीको संयुक्त बैठक आगामी मङ्सिर ३ गते बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय हेटौँडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने समेत निर्णय भएको इन्चार्ज डा भट्टराईले बताए।
केन्द्रमा पनि दुई दलबीच सरकार सञ्चालन गर्नका लागि चार–चार जना रहेको संयन्त्र निर्माण गरिएको छ। (रासस)