काठमाडौँ । मानव तस्करीको आरोपमा विराटनगरबाट पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि विराटनगर प्रहरीले उनलाई आजै विमानमार्फत काठमाडौँ पठाएको थियो ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
अधिकारीसँगै तीन जना गैरकर्मचारीलाई मन्त्रालयको कर्मचारी बनाएर जापान लगेको आरोप लागेपछि मन्त्रीबाट राजीनामा दिएर छानविनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ।