काठमाडौँ । बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आज भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। प्रतियोगितामा नेपालको दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७–२ ले पराजित भएको थियो।
उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा श्रीलङ्का, प्यालेस्टाइन र साउदी अरेबिया छन्। यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि श्रीलङ्कासँग खेल्नेछ । (रासस)