काठमाडौं । तिहारको बहानामा पड्काइने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको जनाएको छ।
एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई १०० भन्दा कम देखिएको थियो। इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित शहरको सूचीमा सूचीकृत छ। चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित शहरमा सूचीकृत भएको छ। विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनि प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार एक्युआई ० देखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ। ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ मानिन्छ।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख गरेको छ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थ सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कण वायुमण्डलमा फैलिने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्रु आग्रह गरेका छन्।
वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिएका छन्।
वातावरण अभियन्ता राजन थापाले दीपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलोहरु उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौँ भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताए। ‘दीपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ। पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ’, उनले भने, ‘अब चिसोमा आगो बाल्ने क्रम बढ्छ। यसले अझै प्रदूषण बढ्दै जानेछ।’
पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्ले आग्रह गरेका छन् । (रासस)