काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डिपी अर्यालले सहकारीले हिनामिना गरेको सर्वसाधारणको बचत रकम फिर्ता गर्ने ठेक्का (जिम्मेवारी) आफ्नो पार्टीले पाए ९० दिनभित्रै गरिदिने दाबी गरेका छन्।
नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले समसामियक विषयमा मंगलबार पत्रकारसँग गरेको अन्तक्र्रियामा उपाध्यक्ष अर्यालले भने, ‘हामीले पहिलेदेखि भन्दै आएको र अहिले पनि भन्छौं, यो कामको ठेक्का पाए ९० दिनमै रकम फिर्ता दिइसक्छौं । ९१ दिन लाग्दैन।’
आफू पार्टीमा आबद्ध हुनुअघि राजनीतिमा सक्रिय नरहेको बरु व्यवसायमा लागेर आफ्नै ढंगले देशका लागि काम गर्दै आएको बताउँदै उनले सहकारीमा डुबेको जनताको बचत रकम फिर्ता गर्ने प्रस्तावसहितको प्रतिवेदन ६ महिनाअघि नै रास्वपाले सरकारलाई बुझाइसकेको स्मरण गरे।
उनले सहकारीका नाममा सरकारले विपक्षी दलहरूलाई सकाउने दुस्साहस मात्रै गरेको आरोप लगाए। ‘अहिलेको सरकार पार्टीको मात्रै भयो’, उनले भने, ‘जनताको सरकार हुन सकेन।’
अहिलेको सरकार आफ्नौ पार्टीका मानिसलाई जोगाउने अनि विपक्षी पार्टीका मान्छेलाई फसाउने काममा मात्रै केन्द्रित भएको आरोप उनले लगाए।
यही कारण रास्वपाका सभापति रवि लामिछानेलाई सुनियोजित ढंगले फसाउने षड्यन्त्रमा सरकार लागेको उनको आरोप थियो।