काठमाडौ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका छन् । लेखकले गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे पनि बताएका छन्।
‘नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ’ उनले भने, ‘गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईँहरु रहेको देशमा तपाईँको अनुहार र व्यवहारमा नेपाल देख्छन् ।’
गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए। ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईँको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ’ उनले भने ।
यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानून संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । उनले भने ‘तपाईँहरु पनि त्यसरी नै आउनुहोस् । कानून संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईँ पनि गृहकार्य गरेर आउनुहोस्,’ ।
लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै लोकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए । रासस