ललितपुर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
गणेशमान सिंह प्रतिष्ठानद्वारा आज आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उनले राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्।
खेलकुदको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान पुग्नका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने उनकाे भनाइ थियाे।
उनले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिए।
प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गरे।
नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताए।