पोखरा । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेपछि देशभरबाट रास्वपा नेता कार्यकर्ता पोखरामा रहेका छन् ।
लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइयो । शनिबार बिहानदेखि नै रविको बचाउमा समर्थकले आन्दोलन चकाइरहेका छन् । तर, आन्दोलनमा पोखरेलीको उत्साहजनक साथ नपाएको रास्वपाले नेतालाई घरदैलो चाहार्न खटाएको छ ।
बुधबार बिहानैदेखि पार्टी उपसभापति स्वर्णीम वाग्ले पोखराको मासबार क्षेत्रमा घरदैलो गरिरहेका छन् । कार्यवाहक प्रवक्ता मनिष झा छोरेपाटन क्षेत्रका घरदैलोमा पुगेर पोखरेलीको साथ मागेका छन् ।
मंगलबार पनि उनीहरुले पोखराका विभिन्न स्थानमा पुगेर घरदैलो चाहारे । केन्द्रीय सदस्य डा. तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगे भने हरि ढकालले बिरौटा क्षेत्रमा डुलेका थिए । रास्वपाले १० समूह बनाएर घरदैलो गरेको हो ।
आन्दोलनमा सहभागी हुन अनुरोध गर्दै घरदैलो गरेको प्रवक्ता झाको भनाइ छ ।
यता, सहकारीका पीडित बचतकर्ताले भने रास्वपाका नेता घरदैलोमा आएर धम्काउने र प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा र सहकारी बचत पीडित संघ कास्कीले बुधबार विज्ञप्ति निकालेर रास्वपाको घरदैलोप्रति आपत्ति जनाएको हो ।
‘निष्पक्ष छानबिन र सहकारी पीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडितलाई भड्काउने गरेको काम प्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
रास्वपा सरकारमा हुँदा दुई वर्ष अगावै हारगुहार गर्दासमेत सहयोग नगरेको आरोप छ । अहिले आएर अनुसन्धानलाई प्रभावित पार्न खोजेको पीडितले निष्कर्ष निकालेका छन् ।
‘हाम्रो सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँजसो पोखरामा भइराखेका छन् । पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन्, पिटिएका छन् । विगत दुई वर्ष अगाडिदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरुलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउदा पीडितको समस्या समाधानका निम्ति विन्ती बिसाउँदा पनि कहिल्यै कुनै सरसहयोग नभएको कुरा छर्लङ्ग छ’, विज्ञप्तिमामर्फत आरोप लगाइएको छ ।
रास्वपाको कदमको विरोधमा सहकारी पीडितले बिहीबार मुस्ताङचोकमा विरोध प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजे विरोधमा सहभागी हुन संघर्ष समितिले पीडित बचतकर्तासमक्ष आह्वान गरेको हो ।
पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसहित पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन संसदीय विशेष समिति ठहर छ ।
संसदीय समितिको प्रतिवेदन कार्यन्वयनका लागि गोरखा मिडिया नेटवर्कका सञ्चाक पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका हुन् ।
अर्का सञ्चालक सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने गतवर्ष नै पक्राउ परेका थिए । सहकारी ठग प्रकरणका मुख्य नाइके गितेन्द्रबाबु राई (जिबी) भने फरार नै छन् ।