रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेश अनुसार रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउदै रुपान्तरणको आवश्यकता रहेको बताए ।
अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको समेत मुख्यमन्त्री आचार्यले बताए । कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न, विपद् व्यवस्थापनलगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताए । अपराधको प्रकृति फेरिँदा सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको बताए ।
कार्यक्रममा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । साथै प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजय हुनेहरुलाई समेत पुरस्कृत गरिएको थियो ।