काठमाडौं । कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुने सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम काठमाडौं आइपुगेको छ।
टोली गएराति आइपुगेको हो। टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
सहभागी हुने/नहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्विकृति पाएको थियो।पाकिस्तानले भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ।
च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन्। खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन्।
नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो।
त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए।