पर्सा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेकपा एमाले जनतामा आधारित पार्टी भएको र कार्यकर्ताहरू ढुङ्गाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेको बताएका छन् ।
जिल्ला कमिटी पर्साको सहजीकरणमा नेकपा एमाले मधेश प्रदेश कमिटीले पर्सामा सोमबार आयोजना गरेको ‘पार्टी निर्माण र सुद्धीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले विचारमा प्रष्ट रहेको तथा सबल सङ्गठनका कारण नेता र नेतृत्वबीच समन्वय एवम् सहकार्य बलियो रहेको बताएका हुन् । जनतामा आधारित नेता–कार्यकर्ता भएकै कारण नेकपा एमाले विपक्षी पार्टीहरूभन्दा सक्षम र अगाडि रहेको दाबी उनको छ ।
एमालेका कार्यकर्ता पङ्क्ति मुलुकका सबै दलहरूका भन्दा बलियो रहेको चर्चा गर्दै मन्त्री गुप्ताले आफ्नो पार्टीका कार्यकर्ताहरू ढुङ्गाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेको पनि बताए । पार्टी बन्न नेतृत्व चाहिने र सुविचारित र सुस्पष्ट दृष्टिकोणसहितको नेतृत्वबाट मात्रै पार्टीले गति लिने उनको भनाइ छ ।
पार्टीले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी लगायतका नेताहरूको योगदान रहेको र पार्टी विभिन्न विचार श्रृङ्खला पार गर्दै अगाडि बढिरहेको मन्त्री गुप्ताले बताए । एमाले जनआन्दोलन र जनपरिचालनका माध्यमबाट अघि बढिरहेको पनि उनले स्पट गरे । ‘जनआन्दोलन भनेको जनवर्गीय सङ्गठनका माग र मुद्दालाई साथ र सहयोग गर्ने हो भने जनपरिचालन भनेको संसदीय मोर्चामा श्रेष्ठता हासिल गर्ने हो,’ उनले भने ।
पार्टीभित्र बहस, अन्तक्र्रिया र छलफल कम भएको उनको भनाइ छ । ‘बहसले मगज भुत्ते हुनबाट जोगाउँछ, अन्तरसंवादले सबल अन्तरसम्बन्ध बढाउँछ र अन्तरक्रिया सिंहावलोकन हो,’ उनले भने । संसदीय मोर्चामा रहेका साथीहरूले काम गरे/नगरेको विश्लेषण कार्यकर्ता र शुभेच्छुकले गर्ने भएकाले एमाले कार्यकर्ताले जनतासँग स्पष्ट र पारदर्शी छबि निर्माण गर्नुपर्नेमा मन्त्री गुप्ताको जोड थियो ।