रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा दाङको गडवा गाउँपालिका–५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको बताइएको छ ।
काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सिटी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।
प्रसुती गृहमा उपचाररत मध्ये छ जना र सिटी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् ।
उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।