काठमाडौं । कलाकार भिसामा युरोप पठाइदिने नाममा ठगी गरेको आरोपमा ‘इकु’ उपनामहाले चिनिने कलाकार सुलेमान शंकर पक्राउ परेका छन् ।
उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
इकुले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।
विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको एसपी बोगटीले बताएका छन् ।
पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी बोगटीले बताएका छन् ।