काठमाडौँ । जिब्रो थुत्छु भन्ने मन्त्रीको पद धरापमा परेको छ ।
सरकारका प्रवक्ताजस्तो व्यक्तिले आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनु गलत भएको भन्दै मन्त्रीबाट हटाउनुपर्ने माग चौतर्फी रुपमा उठेको छ । यसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मन्त्री पदबाट हटाउने मनस्थिति बनाएका छन् ।
असभ्यतातर्फ समाजलाई लैजाने क्रियाकलापले सुखी नेपाली समृद्ध नेपालको नारा फगत नारामै सीमित हुने भन्दै सामाजिक सञ्जालहरुमा मन्त्री गुरुङलाई बर्खास्त गर्नुपर्ने स्वरहरु तीव्र बनेका छन् ।
आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी जथाभावी बोल्दै हिँड्ने मन्त्री गुरुङलाई यथाशीघ्र बर्खास्त गर्नुपर्ने माग सामाजिक सञ्जालहरुमा आएका छन् ।
यता पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।
मञ्चले मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्द प्रयोग गनरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग माफी माग्नसमेत आग्रह गरेको छ । साथै मन्त्रीको असंवेदनशील अभिव्यक्तिको घटनालाई आवश्यक संज्ञानमा लिएर कारवाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
गत शनिबार पोखरामा प्रेस चौतारीको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजनसम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।