काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सरेको छ । बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा चर्को विवाद उत्पन्न भएको छ ।
महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए ।
महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध रहेको छ । सभापति देउवाले महामन्त्रीहरुका प्रस्तावलाई मध्यमार्गी बनाएर जानेबारे शीर्ष नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।
साउन २३ गते सुरु भएको बैठकमा अब सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयले मात्रै बोल्न बाँकी छ । पार्टीका पाँच शीर्ष नेताले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने कांग्रेसको तयारी छ ।
बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रतिवेदनमा चर्को विवाद भएकै कारण बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको छ ।