काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा नेपालीहरुको मौलिक सांस्कृतिक पर्व भएको बताएका छन्। परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’का अवसरमा शुभकामना दिँदै उनले यो पर्व महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरे । उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताए । शुभकामना सन्देशमामार्फत भनेका छन्,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो।’
उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने उल्लेख गरे। पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति,भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताए ।