काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई बालुवाटार बोलाएका छन् ।
कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादी नेता जनार्दन शर्मा कार्यदलमा छन् । छलफलका लागि उनीहरुलाई प्रधानमन्त्रीले ११ वजे बालुवाटार बोलाएका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेको कार्यदलको कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बुझिएको छ ।
असार १७ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुबीच भएको छलफल पछि कार्यदल बनाइएको थियो ।

























