काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समयअनकूलको पर्यटन नीति बनाउने दाबी गरेका छन् ।
सोमबार मन्त्रालयको पद बहाल गर्दै मन्त्री पाण्डेले सो दाबी गरेका हुन् । उनले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए ।
उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताए। उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए ।
उनले जनताले भ्रष्टाचारको न्युनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको बताए ।
उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटक भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए। उनले पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्ने बताए।
उनले युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दैसबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए। उनले ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने बताए ।