काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । नेकपा एमालेका उपमहासचिव गुरुङ २०६४ चैत्र १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । गुरुङ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको प्रथम (संस्थापक) मुख्यमन्त्री भएका थिए ।
२०२७ मा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार–अनेरास्ववियु तर्फबाट स्ववियु सचिव निर्वाचित भएका उनी २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रूपमा संगठित भएका थिए । २०३६ सालमा नेकपा (माले) पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य बनेका उनले २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरेका थिए ।
२०४० बैशाखमा नेकपा (एमाले) जिल्ला संगठन कमिटीको सदस्य भनेका उनी २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भएका थिए ।
२०५० फागुन १०–११ को दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुनः निर्वाचित उनी २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
२०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भै जिम्मेवारी सम्हाले उनी २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका थिए ।
२०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हाले उनी २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति फाँट इञ्चार्जको रूपमा कार्यरत थिए ।
२०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी २०६५ मा पार्टी पोलिटब्युरो सदस्यमा निर्वाचित भए । २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गरेका उनी २०७१ मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भएका थिए ।
२०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत उनी २०७५ नेकपाकालमा स्थायी कमिटी सदस्य र गण्डकी प्रदेश इन्चार्ज थिए । २०७८ मंसिर १०–१४ मा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएपछि पार्टीको प्रचार विभाग प्रमुख भए ।
लमजुङबाट प्रतिनिधिसभामा निर्वाचिन गुरुङ राजनीति अघि शिक्षण पेशामा थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा २०३७/२०३८ मा २ पटक हिरासतमा परेका पृथ्वीसुब्बा गुरुङ २०४०/२०४१ को शिक्षक संघर्षमा १४ दिन प्रहरी हिरासतमा बसेका थिए ।
२०३८ सालमा नेकपा (एमाले) इलाका पार्टी संगठन कमिटीको तर्फबाट टक्सारमा ज्यालावृद्धिको लागि हली हड्तालको नेतृत्व गरेका उनले २०३९ सालमा कृषि मजदुरहरुको ज्याला वृद्धिको लागि किसान आन्दोलनको नेतृत्व गरेर सफलता प्राप्त गरेका थिए ।
२०४१ देखि २०४४ सालसम्म घरबारविहीन किसान, सिकर्मी, डकर्मीहरुको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको वैचारिक नेतृत्व गरेका उनी २०४५ सालमा नेकपा (माले) द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्षको लागि गठित संयुक्त संघर्ष समिति, नेकपा (माले) लमजुङको संयोजक बनेका थिए ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरोधी संयुक्त जनान्दोलन लमजुङमा संयोजक बनेका उनी २०४७ मा नेकपा (माले) को तर्फबाट नेकपा (माले) र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजक थिए ।
२०४२ आषाढ ७ गते पक्राउ परी १ सय दिन प्रहरी हिरासतसहित ११ महिना शान्ति सुरक्षा ऐनअन्तर्गत लमजुङ कारावासमा थुनामा बसेका उनले कारावासमा रहेर नै जनपक्षीय उम्मेदवार भै भण्डाफोर अभियानका रूपमा चुनावी मोर्चा प्रयोग गरेका थिए ।
विद्यार्थी र शिक्षक रहेर राजनीतिक आन्दोलनमा गुरुङले झन्डै १ वर्ष कारागार बसेका छन् । आफ्नो जीवनको ५ दशकबढी राजनीतिक यात्रा गरिसकेका उनी संघीयता, आदिवासी जनजाति आन्दोलन र जनताको बहुदलीय जनवादको प्रखर वक्ताका रूपमा चिनिन्छन् ।
राजनीतिमा वाम शक्ति एक हुनुपर्ने मान्यता राख्ने गुरुङ वामपन्थी आन्दोलनका व्याख्याता समेत हुन् । क्व्होलासोंथार गाउँपालिका ९, टक्सार लमजुङमा २०१४ फागुन २ गते जन्मिएका गुरुङका बुवा स्व. गंगाप्रसाद गुरुङ र आमा चिनी गुरुङ हुन ।
बीएस्सी अध्ययन गरेका गुरुङकी श्रीमती कुमारीमुनी हुन भने एक छोरा र ४ छोरी छन् ।