काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ भने नेताहरुलाई घरपायक क्षेत्रमा खटाउन निर्णय गरेको छ ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।
कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने बताउँदै एमाले उपमहासचिव ज्ञवालीले सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने पनि बताएका छन् ।
यस्तै एमालेले नेता, कार्यकर्ताहरूको नयाँ कार्यविभाजन गरेको छ । सचिवालय बैठकले कार्यविभाजनको मापदण्डबारे निर्णय गरेबताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले एक वर्षअघिको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको बताएका छन् ।
नयाँ कार्यविभाजन अनुसार अब केन्द्रीय नेताहरू आफ्नै क्षेत्रमा खटाइने उनले बताएका छन् ।
केन्द्रीय सदस्यहरूलाई आफ्नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र तोकिएको वताउँदै उनले भने ‘यसअघि आफ्नो भूगोलभन्दा फरक जिम्मेवारीमा नेताहरूलाई पठाइएको थियो।’
ज्ञवालीका अनुसार निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर केन्द्रीय नेताहरूको जिम्मेवारी केन्द्रबाटै तोकिने छ। प्रदेशले पालिकालाई आधार बनाएर प्रदेश तहका नेताहरूको जिम्मेवारी तोक्ने छ । पालिकाले वडालाई अधार बनाएर नेता, कार्यकर्ताहरूको कार्यविभाजन गर्ने मापदण्ड छ ।