काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् । नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चा चलिरहेका बेला प्रचण्ड र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण हेरिएको छ ।
उनीहरुबीच खास के कुरा भयो भन्ने बाहिर नआए पनि पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ ।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा पछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ ।
आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।




















