काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन प्रणाली नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)को शुभारम्भ गरेको छ । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने नारासहित मानइने विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर सोमबार नेफिल्स सफ्टवेरको शुभारम्भ गरिएको हो ।
सफ्टवेयरको शुभारम्भ गर्दै कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको इ–गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवालाई फेसलेस, पेपरलेस बनाइ गुणस्तर अभिवृद्धि गरिने नीति कार्यान्वयनमा समेत यसले टेवा पुर्याउने बताइन् ।
मन्त्री साहले अनलाइन प्रणालीमार्फत सेवा प्रदान गर्ने यस कदमले विभागको कार्य क्षेत्रमा प्रभावकारिता ल्याउने विश्वास ब्यक्त गरेकी छिन् । ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐनको दफा २६ मा विभागको काम, कर्तव्य र अधिकार अन्तर्गत २६ (ठ) मा विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था रहेकोमा विभागले स्वतःस्फूर्त रूपमा यस सफ्टवेयर विकास गरी खाद्य तथा दाना उद्योगको अनुमति पत्र अनलाइन सेवाबाट प्रदान सुरुवात गरेकोमा म धन्यवाद दिन चाहन्छु’, मन्त्री साहले भनिन्, ‘यस कार्यमा सहजीकरण गर्ने स्विस सरकार विकास सहयोग(एसडिसी) प्रति पनि धन्यवाद दिन चाहन्छु ।’
मन्त्री साहले अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्न विकसित प्रविधिको शुभारम्भले खाद्य उद्योगको दर्ताको सिफारिस, अनुमति पत्र जारी तथा नवीकरण जस्ता कार्यलाई सहजीकरण हुनेमा विश्वास लिएको बताइन् । मन्त्री साहले भनिन्, ‘विद्यमान खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ ले खाद्य उद्योगको दर्ताको सिफारिस विभाग तथा मातहतको कार्यालयबाट लिनुपर्ने र खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा अनुज्ञा पत्र लिनुपर्ने तथा सालवसाली नवीकरण गर्नुपर्ने प्रावधान रहेकोले खाद्य उद्यमी सेवाग्राहीलाई खाद्य तथा दाना उद्योग दर्ताको सिफारिस तथा उद्योग अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्न विकसित प्रविधिको शुभारम्भ गरी खाद्य उद्योगको दर्ताको सिफारिस, अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई सहजीकरण हुने कुरामा विश्वस्त रहेको छु ।’
कृषि तथा पशुपन्छी विकास सचिव डा. दीपक कुमार खरालले विभागले आफ्नो कोर फंसन खाद्य तथा दानाको स्वच्छतामा ध्यान दिनुपर्ने बताएका छन् ।
त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी कार्यान्वयनमा अनलाइन प्रणाली सघाउ पुर्याउने बताएकी छिन् ।
विभागले प्रवाह गर्ने सेवालाई सुशासन अन्तर्गत सहज र सुलभ रूपमा प्रदान गर्न विगतदेखि अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने कार्य गर्दै आएको वताउँदै उनले भनिन्, ‘विद्यमान खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ ले खाद्य उद्योगको दर्ताको सिफारिस विभाग तथा मातहतको कार्यालयबाट लिनुपर्ने र खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा अनुज्ञा पत्र लिनुपर्ने तथा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।’
स्विस सरकार बिकास कार्यक्रम (एसडीसी)को सहयोगमा नेपाल कृषि बजार बिकास कार्यक्रम (सहज), स्विसकन्ट्याक्ट मार्फत बिभुती सोलुसन प्रालीको प्राबिधिक सहयोगमा नेफिल्स सफ्टवेर तयार पारिएको बताइएको छ ।
नेफिल्स सञ्चालन भएसँगै अब सेवाग्रहीहरुले पहिले जस्तो पटक पटक कार्यालय धाइरहनु नपर्ने र इन्टरनेटको माध्यमबाट सेवा लिन पाउने बिभुती सोलुसनका सीईओ अशोक खनालले बताएका छन् ।
कार्यक्रममा सहजको तर्फबाट टिम लिडर रिमा श्रेष्ठले मन्तब्य राखेकी थिइन् ।
विश्व खाद्य स्वच्छता दिवस यही जेठ १९ देखि २५ गतेसम्म सप्ताहव्यापी रूपमा खाद्य स्वच्छतासँग सम्वन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गरी देशैभरि भव्यताका साथ मनाईंदै छ ।