काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। जेठ १४ गते सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी नियुक्ति र लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको थियो।
अदालतले कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो। सोही आदेशलाई टेकेर प्रदेश प्रमुख भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो। मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका थिए।




















