काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा संघीय संसद्का विपक्षी दलहरूबीच छलफल भइरहेको छ । कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका विपक्षी दलहरूबीच संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलको नेताको कार्यकक्षमा बैठक जारी छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेले बोल्न समय पाउनुपर्ने माग गर्दै आएका छन् भने सभामुखले बोल्न दुई पटक समय दिँदा पनि कांग्रेसले बोल्न दिएको छैन । प्रश्न उठाएपछि उत्तर दिन पाउनुपर्ने सत्तापक्षका सांसदहरुको तर्क छ ।
सोही विषयमा बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।
आजको संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न विपक्षी दलहरू छलफलमा जुटेका बेला सत्तारुढ प्रमुख तीन दल नेकपा एमाले, माओवादी र रास्वपाबीच पनि छलफल भएको छ । आज सिंहदरवारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हो ।




















