काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।
प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेको अनुरोधको विषयमा संसदीय दलको बैठक बसेर निस्कर्षमा पुग्ने बताए ।
लेखकले भनेका छन्,’ प्रधानमन्त्रीसँगको छलफलमा सहकारी ठगीको समस्या समाधानका लागि पुरै कोशिस गरिराखेको छ । समाधान गरेरै छाड्ने बताउनु भएको छ । उहाँले आज संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन हुने भएकाले अवरोध नगरीदिन आग्रह गर्नु भएको छ । हामीले उहाँले भनेको कुरालाई संसदीय दलको बैठकमा छलफल गरेर निस्कर्ष र निर्णयमा पुग्छौं भनेका छौं । प्रधानमन्त्रीको प्रतिवद्धता हामी व्यवहारमा हेर्न चाहन्छौ ।’
लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।
राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।




















