काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।
राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’
यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।
जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन् । यस अघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्ने निर्देशन दिएका थिए ।
जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ ।




















