काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औंल्याए ।
राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने महर बताउँछन् । ‘सरकार सहकारी पीडित जनताको पक्षमा देखिएन । आफ्नै क्याविनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषिलाई संरक्षण गर्ने नाइके जस्तो देखियो’, उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ । ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ ।’
सहकारी ठगी जनतको जीवनसँग प्रत्येक्ष जोडिएको विषय भएको र ठगीएका जनता गाउँ–गाउँमा रहेकाले कांग्रेसको आन्दोलन पनि सडक हुँदै सदनसम्म केन्द्रित हुनुपर्ने महरको धारण छ ।
यस्तै नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसदलाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएको बताएका छन् । सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिंगो सरकार लाग्नु र संसदलाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको महरको भनाइ छ ।
लोकतन्त्रमा लुटतन्त्र र ठगतन्त्र नचल्ने भएकाले लामिछानेलाई तत्काल राजीनामा दिएर मार्ग प्रसस्त महरको चेतावनी छ ।
संसदमा लामिछानेलाई बोल्न नदिने विषय पनि उत्तम नभएको महरको धारणा छ । ‘कुनै लघुताभाष नभएका गैरजिम्मेवार गृहमन्त्रीका कुरा पनि सुनौं । जताततै ठग्न पल्किएका गृहमन्त्रीले सदनमा जति प्रस्टिकरण दिए पनि जनता पत्याउने अवस्थामा छैनन् । उनले जनतामाथि घात गर्दै पूर्ण विश्वास गुमाइसके,’ महरले भने ।
यसका साथै सहकारी ठगीमा अभियोजनपत्र दर्ता भइसकेर किटान भएका गृहमन्त्री लामिछाने, जिवी राईलगायत देशभरका संकटग्रस्त सहकारीको छानविन गर्न सरकारले तत्काल छानविन समिति बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने महरले माग गरेका छन् ।
सहकारी ठगकै कारण मान्छे मर्ने अवस्था पुगिसकेको प्रसंग उल्लेख गर्दै नेता महरले भने, ‘सहकारी गठहरूकै कारण मुलुकको अर्थतन्त्र तहस नहसको अवस्थामा पुगेको छ । जनताको कराडौं रुपैयाँ डुबेको छ । जनता मर्न बाध्य छन् । यस्तो अवस्था सिर्जना गर्नेहरुको संरक्षणमा सरकार नै किन लागेको होला? भनेर अचम्म लागिरहेको छ ।’
महरले सरकारमात्र नभएर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छानविन समिति बनाउन बाधा खडा गरिरहेको आरोप लगाएका छन् । ‘सहकारी ठगीको निश्पक्ष छानविन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानविन समिति बनाउन बाधा खडा गरिरहनु भएको छ,’ उनले भने ।
संसदीय व्यवस्थाको पक्षपाती दल कांग्रेस भएकाले संसदीय कामकारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर बन्नु पर्ने महरको धारण छ । ‘सदनमा जुनसुकै मन्त्रीले पनि बोल्न पाउनुपर्छ । विश्व राजनीतिमा यो संसदीय व्यवस्थाको सुन्दर पक्ष पनि हो । संसदको ठूलो दल कांग्रेस भएकाले हाम्रो भावनालाई लत्याएर अगाडि बढ्ने सभामुखको चलखेल पनि कपटपूर्ण देखिन्छ । सभामुख तथष्ट हुनुपर्छ’, उनले भने । राजनीतिक बेइमानी गरेर सदनलाई अगाडि बढाउन खोजे त्यो कांग्रेसका लागि स्वीकार्य नहुने महरको चेतावनी छ ।




















