काठमाडौं । पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढा माओवादी नेता जनार्दन शर्माका विश्वास पात्र मानिन्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको पर्यटन प्रवद्र्धन महाशाखा प्रमुख रहेका बुढालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । बुढा अहिले पर्यटन विभागमा बसेर अकुत पैसा कमाउने धन्दामा लागेका छन् । नियम विपरितका कामहरु गर्दै पैसाको वार्गेनिङ गरिरहेका छन् ।
विभागले पर्यटन उद्योगहरुको दर्ता, नविकरण, स्तरीकरण, अनुगमन एवं पर्यटन व्यवसायको नियमन गर्ने कार्य, पर्यकीय सम्पदाहरुको संरक्षण तथा पर्यटन पूर्वाधारहरुको विकास, पर्यटकहरुको सुरक्षा, पाँचतारे होटलहरु, क्यासिनो, स्वदेश विदेशमा पर्यटन प्रवद्र्धन, पर्वतारोहण अनुमति जस्ता कार्यहरु यस विभागले हेर्ने गर्दछ । यिनै कार्यहरु गर्न महानिर्देशक बुढाले सेवाग्रहीबाट पैसा लिएर नियम र मापदण्ड विपरित काम गर्दिने गरेको पर्यटन विभागको समाचार स्रोतले मार्गदर्शनलाई बताएको छ ।
होटलको योजना स्वीकृत गर्दा पैसा लिने गरेका छन । होटल अकामालाई मापदण्ड विपरित पाँचतारे होटलको प्रमाणपत्र दिएर २५ लाख रुपैयाँ महानिर्देक बुढाले बुझेका छन् । यसैगरी पोखराको डालिमा होटल पाँच तलाको होटल आईईई गर्ने बेलामा पैसा लिएर १ तलाको मात्रै होटल हो भनी आईईई पास गरेको छ ।
त्यसैगरी काभ्रेको मण्डन देउपुरमा रहेको भगेरी दरवार रिसोर्टका लागि १५ वटा गाडीको योजना स्वीकृत गरेर आर्थिक चलखेल भएको छ । विदेशी आयस्रोतका आधारमा २ वर्षभित्र आएको आम्दानीबाट बढीमा २ वटा सवारी साधान खरीद गर्न मिल्ने प्रावधान विपरित १५ वटा सिधै खरिद गर्न दिनु नियम विपरित कार्य हो ।
काभ्रेको पनौती नगरपालिकामा रहेको पानोरमा भ्यू टावरलाई स्वीकृत दिँदा लाखौ रुपैयाँ चक्रबहादुर बुढाले लिएका छन् । आवश्यकता भन्दा बढी उचाई भएकाले विगतका महानिर्देशकहरुले लामो समयदेखि हवाई सुरक्षामा समस्या हुन्छ भनेर रोकेर राखेको भ्यू टावरलाई बुढा आएपछि, शाखा अधिकृत प्रयास भट्टराई, चुन बहादुर तामाङको टीमले स्वीकृत प्रदान गरेको छ । यस टावरका संचालक पदम प्रकाश थुलुङ हुन । शाखा अधिकृत भट्टराई, तामाङले पैसाको दामकाम गरी महानिर्देशकलाई प्रभावमा पारेर स्वीकृत दिने गरेका छन् । उनीहरुले दैनिक क्यासिनो गएर मोटो रकम उठाउने गरेको स्रोतको दावी छ ।
त्यसैगरी पोखराको रोम रिजेन्सी होटलको कोठा संख्यालगायतका पूर्वाधार नपुगेको तर पनि महानिर्देशक बुढाले चार तारे स्तरको होटलको प्रमाणपत्र दिएका छन् । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
त्यसैगरी मापदण्ड विपरित होटलहरुलाई तारे होटलको प्रमाणपत्र बेच्ने काममा महानिर्देशक लागेका छन् । एभरेष्ट होटलको पनि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) भएको छैन ।
वातावरण संरक्षण ऐन २०७६ नयाँ वातावरण संरक्षण नियमावली २०७७ मा १०० वटा भन्दा बढी कोठा भएमा वन विभाग र १०० भन्दा कम कोठा भएमा पर्यटन विभागले आर्ईईई स्वीकृत गर्ने प्रावधान छ । महानिर्देशक बुढा अहिले जसरी भए पनि पैसा कमाउने धन्दामा लागेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति समेत रहेका कांग्रेसका सांसद रामहरि खतिवडाले फागुन १३ गते संसदमा बोल्दै मापदण्ड विपरित तारे होटलको स्तरवृद्धिको अनुमति दिएको भन्दै तत्कालिन पर्यटनमन्त्री सुदन किराँतीको चर्को आलोचना गरेका थिए भने संसदको ध्यानाकर्षण गराएका थिए ।
तर पनि सम्वन्धित निकाय किन मौन छ ? खोजविनको विषय बनेको छ ।