धर्म, पर्यटन र राजनीतिका नाममा राज्यको स्रोत साधान दोहन भइरहेको छ । राजनीतिक संरक्षणमा भ्रष्टाचार बढेको छ भने सरकारी जग्गा भेटेसम्म कब्जा गर्न कोही पछि परेका छैनन् । त्यस्तै धर्म र पर्यटनका नाममा राज्यका जग्गा, वनजंगल, खोलानाला व्यापक रुपमा दोहन भइरहेको छ ।
राजनीतिक नेता, मन्त्रीदेखि कर्मचारीहरुले समेत सरकारी जग्गा हडपेका छन् भने कतिपयले भूमाफियालाई नीतिगत निर्णय गरेर सरकारी जग्गा कब्जा गर्न सहयोग पुर्याएका छन् । कतिपय नेतादेखि कर्मचारीसम्मले आँखा चिम्लिदिएवापत आर्थिक लाभ लिएका छन् । ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णय गर्ने प्रधानमन्त्री, मन्त्रीलाई जागाइएको छ भने कर्मचारी र व्यापारीहरु मात्र दण्डजरिवाना भएको छ । सरकारी जग्गा कब्जा गरेका अरुण चौधरी अदालतको आदेशमा हिरासत मुक्त भएपनि छाविन चलिरहेको छ । बालमन्दिरको जग्गा, खोलानालाका जग्गा पनि अतिक्रमण भएका समाचार आइरहेका छन् ।
अझ विशेष गरेर धर्मका नाममा हुने अवैध गतिविधिदेखि राज्यको दोहनमा समेत राज्यका अंगहरु आँखा चिम्लेर बसेका छन् भने जनताहरु आआफ्नो आस्थाका आधारमा जस्तोसुकै गल्ती भएपनि जयजयकार मनाउँदै उनीहरुकै भक्तिभाव गरिरहेका छन् ।
धर्मलाई सीमित व्यक्तिको कमाइ खाने भाडो बनाइएको छ भने अझ कतिपय मुलुकमा त अवैध कारोवारको थलोदेखि रंगरौशको अखडा समेत बनाइएको छ । साच्चिकै आआफ्नो धर्मकर्ममा तल्लिन हुनेहरुलाई धर्मको जगेर्ना, ध्यान, तपस्या र मानव तथा पृथ्वीमा उत्पन्न जीववस्तुको कल्याण भन्दा अरु सोच्दैनन् । कसरी पापबाट मुक्ति दिलाउने र मानव, जीवस्तु, प्रकृतिको संरक्षण गर्ने भन्नेमा मात्र ध्यान, तपस्या गर्छन् । तर कतिपय भने धर्मका नाममा व्यक्ति पुजा गराउने देखि धनसम्पत्ति आर्जन गर्ने र मोजमस्तीको जीवन यावन गर्ने ध्याउन्नमा लाग्छन् ।
उनीहरुलाई जहाँ मन लाग्यो त्यही राजनीतिक व्यक्ति र राज्यका निकायहरुलाई प्रभावमा पारेर आश्रम, मठ, मन्दिर, चर्च, मस्जिद बनाउने गरेका छन् । वनजंगल फडानी गरेर राज्यको स्रोत साधनको दुरुपयोग भइरहेको छ भने वातावरणमा गम्भीर असर पुर्याउने काम भइरहेको छ । अझ पुरातात्विक स्थल निजी व्यक्तिको कमाइ खाने भाडो भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि उनकै घरवेटी शारदा प्रसाद अधिकारीका छोराको निजी कम्पनीलाई लिजमा दिए ।
लुम्विनी विकास कोषमार्फत स्तूपा क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा दिने गरी ११६ विघा जग्गा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई दिएपछि स्थानीयदेखि राष्ट्रिय स्तरमा समेत विरोध भयो । संसदीय समितिले सो निर्णय खारेज गर्न निर्देशन दिएको छ । तर सरकार र लुम्विनी कोषले त्यसबारे कुनै निर्णय गरिसकेको छैन ।
प्रमिस्ड ल्यान्डले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डको जन्मदिन पारेर प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री सुदन किराती तथा कोषका पदाधिकारीलाई समेत प्रभावित गर्न ५० लाख रुपैयाँ बढी खर्च गरेर ‘रामग्राम दूरदर्शी परियोजना’ शुभारम्भ गरेको थियो ।
कोषले मोक्ष फाउन्डेसन र प्रमिस्ड ल्यान्डको प्रस्तावमा छलफल गरी सैद्धान्तिक सहमति दिएको थियो । मोक्ष फाउन्डेसनको मुख्य कार्यालय सिंगापुरमा छ । यस्ता धार्मिक आवरणमा कसको कनेक्सन कुन देशमा र कोसँग छ भन्ने पत्तो पाउन समेत मुस्किल हुने गरेको छ ।
धर्मका नाममा राज्यको दोहन गर्नेमा कुनै धर्मावलम्वी पनि अछुतो छैनन् । क्रिश्चियनका धर्म प्रचारकहरु गाउँगाउँ पुगेर आर्थिक प्रलोभन पारेर धर्म परिवर्तन गराउन वाध्य पार्दै हिडेका छन् भने वौद्ध, हिन्दु धर्मका नाममा राज्यको सम्पत्ति कब्जा गर्ने, वनजंगल मास्ने काम पनि भइरहेको छ । आफूलाई नववुद्ध भनेर चिनाउने वम्जनले मकवापनुर, सिन्धुली, सिन्धुपाल्चोकमा ध्यान तथा तपस्या केन्द्रका नाममा वनजंगल कव्जा गरेका छन् भने आश्रममा अवैध क्रियाकलाप गरेको आरोपमा बम्जन हाल प्रहरीको हिरासतमा छन् ।
अहिंसाका प्रतिक, शान्तिका प्रवद्र्धक गौतमबुद्धलाई विश्वभर भगवानकाका रुपमा मानिन्छन् । तर तिनै गौतमवुद्धको नयाँ अवतार ‘लिटिलवुद्ध’ भनिएका बम्जन यौन हिंसा, हत्या, अवैध सम्पत्ति आर्जन जस्ता गम्भीर आरोपमा प्रहरीको हिरासतमा पुग्दा आम वौद्धधर्ममार्गीहरुको आस्था र विश्वासमा चोट पुगेको छ । उनी अहिले अनुसन्धानकै क्रममा छन्, अदालतको फैसलाबाट उनी दोषी वा निर्दोष भन्ने एकिन होला । तर उनी माथि अनुसन्धान हुनुपर्ने अवस्थामा आउनु र उनको घरबाट करोडौं पैसा वरामद हुनु नै गम्भीर कुरा हो ।
त्यस्तै हिन्दु धर्मका नाममा पनि अनेकौं बाबाहरु खडा भएका छन् । कसैले मनदेखि नै धर्मको संरक्षण र प्रवद्र्धनका काम गरेका छन् भने कसैले धर्मका नाममा राज्यको सम्पत्ति दोहन गर्ने, ऐसआराम गर्ने, मोजस्तीमा रमाउने र धर्ममा आस्थावानबाट जयजयगान, व्यक्ति पूजा गराउने ध्याउन्नमा लागेका छन् ।
बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा बाइसे–चौबिसे राजाहरूले देवीको पूजा–आराधाना गर्ने इतिहासमा उल्लेखित छ ।
ऐेतिहासिक तथा पुरातात्विक महत्वका पाँच कोट डाडाहरु जो पुरातत्व विभागमा पनि सुचिकृत छन् । आफूलाई मुक्तिनाथ बाबा भनेर चिनाउने वाग्लुङका स्थानीयवासी समेत रहेका कमलनयन आचार्यले ताराजालकोटको चुचो डाँडो सखाप पारी पञ्चकोटको नाम दिइ त्यहाँ विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै सात वटा हेलिकोप्टर बस्ने हवाई मैदान बनाएर त्यहाँको भौगोलिक संरचना विगार्नेदेखि जंगल फडानी समेत गरेको भन्दै प्रकृतिप्रेमीहरुले आपत्ति जनाएका छन् । आचार्यलाई कतिपयले हेलिकोप्टर बाबा समेत भन्ने गरेका छन् । आचार्यले त्यहाँ भौतिक संरचना निर्माण गर्दा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) स्वीकृति पनि नगराएको बताइएको छ । धार्मिक पर्यटनको नाममा होस् वा अन्य कुनै पनि वहानामा भौतिक संरचना निर्माण गर्दा प्रकृति र वनजंगलको संरक्षणमा ध्यान दिनु पर्ने वुद्धिजिवीहरुले बताउँदै आएका छन् ।
२२/२४ से भन्दा पूर्व नै मगरकालिन विरासत बोकेको ताराजालकोटमा छानो थिएन । तर नवरात्रमा अन्य त्यस क्षेत्रका कोटहरुमा जस्तै गरी उपासना र पुजा गरिन्थ्यो । त्यही कोट रहेको एउटै पानिढलोको धुरीमा अन्य चार कोट पनि रहेका छन् । यी क्रमशः त्यस कोटदेखि माथि राङराङकोट, माझकोट, कारीकोट र संसारकोट रहेका छन् । तर पछिल्लो चरणमा सिरानको संसारकोट र पुछारको ताराजालकोटमा कुनै पूजा आजा हुदैन्थ्यो । तर स्वामी कमलनयनको पुनरागवनसम्म कोटको भग्नावेश रहेको थियो । ताकमका कालु थापाका सन्ततिले राज्य गर्दासम्म यी दुई कोटको महिमा रहेको र पछि मल्लराजाको हातमा आएपछि नि यसलाई निरन्तरता दिइएको थियो रे । स्थानीय वुढापाकाको भनाइ अनुसार त्यही ताराजालकोटको तलपट्टि रहेको मगर वस्ती जसलाई हाल लुङ्गाउ भनिन्छका मागरहरुले पुजाआजा गर्नेगर्थे । तर बहादुर शाहले नेपाल एकीकरणका अभियानमा पर्वत राज्यलाई आफूमा मिसाएपछि यसमा र संसारकोटमा पुजा लुप्त भएको जन भनाइ छ । तर हाल आएर कमलनयनले सोही ताराजालकोट रहेकै गर्भस्थानमा पञ्चकोट नाम राखी सनातन संस्कारलाई विलुप्त पार्दै वैष्णवीकरणको कुस्ति ध्यानका साथ ताराजालकोटको नामोट गर्नुका साथै अन्य कोटहरुको अस्तित्व समेत ओझेलमा पारेको स्थानीय वुढापाकाको गुनासो छ ।
बाग्लुङको पञ्चकोटमा अनन्त श्री ब्रम्हाण्डीय महायज्ञ २०८० यही फागुन ९ गतेदेखि २३ गतेसम्म हुँदैछ । श्रीसर्वसिद्धिधाम पञ्चकोट वाग्लुङको आयोजनामा महायज्ञ हुँदैछ । स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विसं २०७१ देखि बर्सेनि महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिँदै आइएको छ । आफ्नो पहुँच माथिसम्मै रहेको देखाउन स्वामी आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीलाई निमन्त्रणा दिएको बुझिएको छ । महायज्ञ अवधिभर भूमिपुजन, श्रीमद्भागवत पाठ पारायण, प्रवचन लगायतका कार्य गर्ने गरिन्छ । महायज्ञ हुनु राम्रो हो । तर आयोजक संस्थाका प्रमुख कमलनयन आचार्यले महायज्ञमा उठेको पैसाको हिसाव पारदर्शी नगर्ने र खर्च भएको रकम पनि मानव कल्याणमा भन्दा प्राकृतिक दोहनमा हुने गरेको स्थानीय भक्तजनको गुनासो छ ।
विवादास्पद स्वामी आचार्यले वाग्लुङमा मात्र होइन, चितवन, भक्तपुरलगायतका जिल्लामा पनि विद्याविठ, आश्रमहरु बनाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र मान्दै आएको पश्चिमी सिमानामा रहेको त्रिवेणी गजग्राहमा विनास्वीकृति १५ विघा जग्गा अतिक्रमण गरेको अभियोगमा निकुञ्जले कमलनयनका सहायकलाई २०७२ सालमा पक्राउ समेत गरेको थियो । वन विभागले उनीविरुद्ध मुद्दा समेत हालेको थियो । भक्तपुर छालिङ पञ्च महालक्ष्मी पीठमा पनि वन अतिक्रमण गरेको मुद्दा छ । पर्वतको ऐतिहासिक डाडा जजलजला पनि कब्जा गर्ने मिसनमा रहेको स्रोतले बताएको छ ।
आचार्यले आफूलाई मुक्तिनाथ बाबा भनेर चिनाउँछन् । तर मुस्ताङ मुक्तिनाथ क्षेत्रका मानिसहरु उनले मुक्तिनाथ बाबा भन्दा आश्चर्य चकित हुने गरेका छन् । २०५० सालमा अयोध्या तोताग्री मठबाट पूर्वमध्यमा फेल भएको जानकारहरु बताउँछन् । गर्ग गोत्रिय भएको हुँदा आचार्य लेख्छन् । सर्वप्रथम २०४२ सालमा वाग्लुङ कुडुलेमा विश्वशान्ति धान्याचल महायज्ञ तथा वैदिक धर्म सम्मेलनबाट ६ विषयमा आचार्य गरेका श्रीधराचार्य कमलनयनका गुरुले श्री मुक्तिनाथ वेद विद्याश्रम २०४२ पौष १ गतेदेखि यिनलाई आफू पछिको उत्तराधिकारी दिएपछि यिनको धार्मिक यात्रा सुरु भएको हो ।
मुक्तिनाथमा आचार्यलाई मुक्तिनाथ बाबा मान्न अस्वीकार गरेपछि उनले मुक्तिनाथ मन्दिरमा भ्रष्टाचार भएको भन्दै बलराम शर्मालाई मुद्दा हाल्न लगाएका थिए । मुद्दा हालेकोमा आचार्यले शर्मालाई सम्मान समेत गरेका थिए ।