काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताएका छन् ।
एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रशासनिक सजगता बिना एसिडको उपलब्धता हुनु नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताए । उनले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने पनि बताए । उनले घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताए ।
अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरु कुनै पनि सजाय दिन सकिने बताए ।