काठमाडौं । इन्जिनियरिङ विधामा स्नातकोत्तर गर्ने विद्यार्थीहरूका लागि नेपाल इन्जिनियरिङ कलेजले चारवटा महत्वपूर्ण विषयमा अध्यापन गराइरहेको छ । कलेजको लगनखेल प्रयागपोखरीमा अवस्थित नेक–सिपिएसमा कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्पिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई हुने गर्दछ ।
नेक–सिपिएस कार्यक्रमकी डाइरेक्टर प्रा.डा. तुसिता चाँदनी शाहीका अनुसार कलेजले सन् १९९९ देखि स्नातकोत्तर तहमा अध्यापन सुरु गरेको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले सबै विषयमा अध्यापन गराउन दक्ष तथा अनुभवी प्राध्यापकहरूको ब्यवस्था गरेको छ । कलेजले अध्यापन गराउँदै आएका उल्लेखित चार वटा विषयले मुलुकको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउँदै आएको कलेजको दावी छ ।
कन्स्ट्रक्सन म्यानेजमेन्टः
यो विषय खासगरी निर्माण क्षेत्रसँग सम्बन्धित विषय हो । पछिल्लो समय मुलुकमा विकास निर्माणका गतिविधिहरू तिब्र रूपमा बढ्दै गएको तथा निर्माण प्रविधिको विकास हुँदै गएकाले प्रभावकारी रूपमा त्यससँग सम्बन्धित योजना बनाउन, व्यवस्थित गर्न र निर्माण परियोजनाहरूको व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्तिको खाँचो छ । यही विषयलाई मध्य नजर गर्दै कलेजले सन् १९९९ बाट कन्स्ट्रक्सन म्यानेजमेन्टको विषय अध्यापन गराउन थालेको नेक सिपिएस डाइरेक्टर शाहीले बताइन् ।
कन्स्ट्रक्सन म्यानेजमेन्टमा यस क्षेत्रमा नवीनतम ज्ञान र सीपहरू प्रदान गरी विषयगत दक्ष जनशक्ति तयार पार्न डिजाइन गरिएको हो । कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर गरेकाले सरकारी, गैरसरकारी र नीति क्षेत्रमा राम्रा अवसर पाउन सक्छन् । साथै, आफ्नै कन्सल्टेन्ट फर्म सञ्चालन गरेर काम पनि गर्न सक्छन् ।
नेचुरल रिसोर्स म्यानेजमेन्टः
कलेजले सन् २००० देखि स्नातकोत्तर तहमा पढाउँदै आइरहेको नेचुरल रिसोर्स म्यानेजमेन्ट अर्को महत्वपूर्ण कार्यक्रम हो । प्राकृतिक स्रोतहरूको गतिशीलता, तिनीहरूको अन्तरसम्बन्ध र प्रभावकारी व्यवस्थापन रणनीतिहरूमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले यो विषय तयार पारिएको हो । यसले ग्रामीण र शहरी योजना, इकोसिस्टम व्यवस्थापन, जलाधार व्यवस्थापन, जलस्रोत व्यवस्थापन, वन र फोहोर व्यवस्थापनमा काम गर्ने दक्ष जनशक्ति तयार पार्दछ ।
यस विषयमा अध्ययन गर्नेहरूले सरकारका वन मन्त्रालय, खानेपानी मन्त्रालय, ग्रामीण तथा शहरी योजना, विभाग तथा आयोजनाहरूमा उच्च पदमा रहेर काम गर्ने अवसर पाउँछन् । साथै, गैरसरकारी र निजी क्षेत्रका ठूला योजनाहरू तथा विश्वका ठूल्ठूला परियोजनामा अवसर पाउने गर्दछन् ।
इन्टरडिस्पिनरी वाटर रिसोर्स म्यानेजमेन्टः
यस्तै कलेजले स्नातकोत्तर तहमा सञ्चालन गरेको अर्को विषय हो इन्टरडिस्पिनरी वाटर रिसोर्स म्यानेजमेन्ट । जलस्रोतले विभिन्न सामाजिक, राजनीतिक, आर्थिक र वातावरणीय पक्षहरूलाई समेटेर मानिसहरूको जीविकोपार्जनमा प्रभाव पार्ने भएकाले दिगो जलस्रोत व्यवस्थापनका जटिल चुनौतीहरूलाई सम्बोधन गर्न यो पाठ्यक्रम तयार पारिएको हो ।
सन् २००७ बाट सुरु गरिएको इन्टरडिस्पिनरी वाटर रिसोर्स म्यानेजमेन्ट कार्यक्रमको उद्देश्य प्राविधिक विज्ञहरूलाई अन्तरविषय ज्ञान र सीपहरू मार्फत जल स्रोत व्यवस्थापन र त्यसका समस्याहरू समाधान गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्नु हो । यो विषय अध्ययन गर्दा जलश्रोतसँग सम्बन्धित विभिन्न क्षेत्रहरूमा काम गर्ने अवसर पाइने नेक–सिपिएस डाइरेक्टर शाहीको दावी छ । ‘आइडब्लूआरएम पढ्दा काम नपाइएला कि, करियर सुरक्षित नहोला कि भन्ने चिन्ता गर्नुपर्दैन । हाम्रो जस्तो जलश्रोतको अपार भण्डारण भएको देशमा अवसरै अवसर छन् ।’ डाइरेक्टर शाही भन्छिन् ।
सरकारी, गैरसरकारी निकायमा इन्टरडिस्पिनरी वाटर रिसोर्स म्यानेजमेन्ट अध्ययन गरेका जनशक्तिको राम्रो माग छ । यही विषय अध्ययन गरेर विदेश जान चाहनेहरूलाई विश्वका ठूल्ठूला प्रोजेक्टमा जोडिएर काम गर्ने अवसर छ । याे विषय अध्ययन गर्न चाहने विद्यार्थीले आकर्षक अन्तराष्ट्रिय छात्रवृत्ति समेत पाउँछन् ।
साउथ एसिया वाटर एशाेसिएसनले नेपाल, बंगलादेश र श्रीलंकाका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने गरेकाे छ । जसअनुसार नेपालबाट हरेक वर्ष ५ देखि ७ जना नेपाली विद्यार्थीहरूकाे ट्युसन शुल्क प्राेजेक्टले ब्यहाेर्नेछ । सँगै विद्यार्थीहरूलाई काेर्ष पुरा नभएसम्म (२४ महिना) मासिक केहि शुल्क समेत दिने गरेकाे आइडब्लूआरएमकी रिसर्च काेअर्डिनेटर ज्याेति दाहालले बताइन् ।
याे छात्रवृत्ति पाउनकाे लागि विद्यार्थीले परीक्षा दिनुपर्छ । छात्रवृत्तिमा सहभागी हुन विद्यार्थीले ब्याचलरमा प्राप्त गरेकाे GPA काे अंक र विद्यार्थीले पेश गरेकाे अवधारणापत्र तथा अनलाइनबाट लिइने अन्तर्वार्तालाई मुख्य आधार बनाइन्छ । विज्ञान र प्रविधिमा महिला सहभागिता बढाेस्, उनीहरूलाई विज्ञान र प्रविधिमा अगाडी बढ्न सहयाेग हाेस् भनेर प्राथमिकता दिइएकाे छ । सन् २००४ बाट सुरू भएकाे याे छात्रवृत्तिबाट हालसम्म २ सय बढी विद्यार्थी लाभान्वित भइसकेकाे रिसर्च काेअर्डिनेटर दाहालकाे भनाई छ ।
ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टः
नेक–सिपिएसको अर्को महत्वपूर्ण विषय हो, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट । यो विषय सन् २०१० बाट सुरु भएको हो । यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापनका सवालमा नेपाल जस्ता भर्खरै सडक र यातायातका क्षेत्रमा विकास हुँदै गरेका देशहरूमा यो अति महत्वपूर्ण विषय हो ।
यातायात पूर्वाधारको विकास गर्दा सीमित स्रोतहरू, विशिष्ट भू–वैज्ञानिक र वातावरणीय कारकहरूलाई ध्यान दिँदै व्यवस्थापन गर्न र ग्रामीण तथा सहरी क्षेत्रमा यातायातका आवश्यकताहरू पूरा गर्न प्रविधिसँगै दक्ष जनशक्ति तयार गर्न यो विषय अपरिहार्य छ । ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा स्नातकोत्तर गर्दा यातायात, सडक, भौतिक पूर्वाधार, शहरी विकास जस्ता सरकारी निकायमा काम गर्ने अवसर पाइन्छ । साथै, यससँग सम्बन्धित राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका प्रोजेक्टहरूमा रहेर काम गर्न सकिन्छ ।
सन्ध्याकालिन कक्षा
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई पोखरा विश्वविद्यालयको छात्रवृत्तिसँगै कलेज आफैले पनि कतिपय विषयहरूमा छात्रवृत्ति दिएको छ । यसका अलावा विदेशी छात्रवृत्ति समेत उपलब्ध छ । कलेजका स्नातकोत्तर अध्ययनका लागि पोखरा विश्वविद्यालयले लिने प्रवेश परीक्षा भने उत्तीर्ण गर्नुपर्दछ । उत्तीर्ण भएका विद्यार्थीहरूको मेरिट लिस्ट अनुसार भर्ना गरिन्छ ।
नेक–सिपिएस कार्यक्रम कलेजले सन्ध्याकालमा चलाउँदछ । उल्लेखित विषयहरू अध्ययन गर्नेहरु सरकारी, गैरसरकारी तहमा जागिर खाइरहेका हुनेले उनीहरूको समय व्यवस्थापनका लागि कलेजले सन्ध्याकालिन कक्षा चलाउँदै आएको हो । ‘हामी कहाँ अध्ययन गर्ने धेरै विद्यार्थीहरू सरकारी तहमा जागिर खानुहुन्छ । उहाँहरुको जागिरलाई पनि असर नगरोस् र पढ्ने चाहना पनि नरोकियोस भनेर सन्ध्याकालिन कक्षा चलाएका हौं ।’ कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी भन्छन् ।
पोखरा विश्वविद्यालयले पछिल्लो समय आफ्ना कोर्सहरू रिभिजन गरेकाले नेकमा अध्ययन गर्ने विद्यार्थीहरूले समयसापेक्ष विश्वव्यापी रुपमा चलिरहेका कोर्सहरू अध्ययन गर्न पाउँछन् ।
कलेजले आफ्ना विद्यार्थीहरूलाई अन्तराष्ट्रिय रुपमा एक्सपोज हुने वातावरण बनोस भनेर विभिन्न देशका विश्वविद्यालय तथा संस्थाहरूसँग सहकार्य गरेकाले यहाँ अध्ययन गर्दा इन्टरनेशनल डिग्रीसँगै अवसर पनि पाइन्छ ।