काठमाडौं । भेषराज आचार्यले मानवशास्त्र विधा अन्तर्गत रहेर त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको रुपमा सोधपत्र प्रस्तुत कार्य सम्पन्न गरेका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीका बोर्ड सदस्य समेत रहेका आचार्यले ‘एन्थ्रोपोलोजी अफ डिजास्टर’ (भूकम्प)मा नेपालबाट पहिलो विद्यावारिधीको रुपमा सोधपत्र प्रस्तुति कार्य सम्पन्न (अन्तिम भाइवा डिफेन्स) गरेका हुन ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मानवशास्त्र विभागको पहिलो व्याचमा एमफिल गरेका उनले सात वर्षको लामो अध्ययन अनुसन्धान पश्चात सोधकार्य सम्पन्न गरेका हुन । उनले वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारणले धादिङ जिल्लाको जीवनपुर गाउँमा रहेका भूकम्प प्रभावित दलित समुदायको सामाजिक, सांस्कृतिक र जीविकोपार्जनमा परेको प्रभाव, पुनस्र्थापना र रेजिलियन्सको बारेमा मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरेका थिए ।
२०७२ को भूकम्पले धादिङ जिल्लाको जीवनपुर क्षेत्रका १६७ दलित घरपरिवार जसको घर पूर्ण रुपमा क्षति भएको थियो । पूनर्निर्माण प्राधिकरणबाट रातो कार्ड पाएका थिए । उनीहरुको भूकम्प पछिको अवस्था, उद्धार, राहत, पूनस्र्थापना, रेजिलियन्स जस्ता आयामहरुलाई समेटेर मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरेका थिए ।
भूकम्पको प्रकोपले अति सिमान्तकृत समुदायमा पर्ने प्रभावबारे नेपालमा बिरलै अध्ययन भएको कुरालाई मध्येजनर गर्दै उनले यस क्षेत्रमा मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरेको बताएका छन् । उनी भन्छन् ‘२०७२ को बैसाख १२ को विनाशकारी भूकम्पले हाम्रो देशलाई मानवीय मात्र होइन सामाजिक र सांस्कृतिक क्ष्ति पनि गरायो । यस सन्दर्भमा ती विषयहरुलाई मानवशास्त्रीय दृष्टिकोणमा समग्रमा समेट्न आवश्यक रहेकोले अध्ययन गरिएको हो ।’
मानवशास्त्रीहरुको बुझाइमा संस्कृति नै मानव जीवनको मूख्य स्रोत हो । संस्कृति भन्नाले मानवका ज्ञान सिप प्रविधि क्षमता प्रथा परम्परा चालचलन दैनिकी आयआर्जन जीवीकोपार्जन रहनसहन, घर जस्ता सम्पूर्ण विषयलाई समेट्दछन् । यावत विषयहरुमा भूकम्पले पवारेको प्रभाव र त्यसबाट बाहिर निस्किन स्थानीय दलित समुदायले गरेको प्रयास र रेजिलियन्स हुनको लागि आवश्यक कारक तत्वहरुको गहिरो र एथ्नोग्राफी उनको अध्ययनको मूख्य विषय रहेको उनले बताएका छन् ।
यस अध्ययनले तल्लो तहबाट विपतको अवस्थाका दलित समुदायको विविध समस्याहरुको खोजी गर्ने, पूनस्र्थापना र रेजिलियन्स हुन सक्ने कारणहरु पत्ता लगाई ती भूकम्प प्रभावित दलित समुदायलाई नीति तर्जुमा प्रक्रियामा केन्द्रमा राखेर समस्याहरुको समाधान गर्न नयाँ ज्ञान उत्पादन गर्न मद्दत गर्ने उनको दावी छ । उनका अनुसार यो अध्ययन विपतको “मायोपिक” चित्रमा आधारित नभएको र विपतका घटनाहरुबाट प्रभावित सिमान्तकृत व्यक्तिहरुको वास्तविकतालाई जस्ताको तस्तै चित्रण गरी वास्तविक रुपबाट उजागर गर्न प्रयत्नशील रहेको उनको दावी छ ।