काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् ।
नेपाली सेनाको स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको छ । भूकम्पबाट भएको क्षतिको विषयमा प्रधानमन्त्री दाहालले जाजरकोटका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिंदैछन् ।
यसैगरी सुर्खेतबाट मेडिकलसहितको टोली रूकुमपश्चिमको आठविसकोट नगरपालिका पुगेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट गएको टोलीले उपचार थालेको छ । सोही हेलिकोप्टरमा घाइतेहरूको उद्दार गरी वीरेन्द्रनगर ल्याउन लागिएको छ ।
साथै कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले तत्काल उद्दारको लागि सबै संयन्त्र परिचालन गर्ने र आवश्यक राहत सामग्री पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले बताएका छन् ।