बीरेन्द्रनगर । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण संकलन हुँदैछ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए । उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा समस्या भइरहेको छ। जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टरको खाँचो छ । त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।