बीरेन्द्रनगर । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको छ । ।
थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ । प्रहरीका अनुसार अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
जिल्ला सदरमुकामको अस्पतालमा झण्डै १ सय बढीको उपचार भइरहेको छ । गाउँमा पहिरो आएर सडक अबरुद्ध भएकाले गाउँबाट घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरी गृहमन्त्रालयमा पत्राचारी गरी समन्वय भइरहेको छ ।
यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
थप विवरण पनि आउने क्रम जारी छ । भूकम्पमा परी दुईवटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जाजरकोट र रुकुमपश्चिममा भुकम्पमा परेका नागरिकको उद्धारका लागि दुवै जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमूखहरुको नेतृत्वमा उद्धारका लागि प्रहरी परिचालन भएका छन् ।
अन्य सशस्त्र प्रहरी र नेपाली सेना पनि साथमा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालका अनुसार जिल्लामा रहेको प्रहरी जनशक्तिका साथै थप ६० जनाको टोली सुर्खेतबाट पठाइएको छ । भूकम्पमा परी जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । १०० बढी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।