मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका -६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ ।
एकै परिवारका २८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर, ८ वर्षीया छोरी छिता र ११ वर्षीय छोरा मनोजको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको हो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।
घरभित्र हत्या गरिएको अवस्थामा चारैजनाको शव देखेपछि शुक्रबार बिहान ९ बजेतिर छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या भएको खबर पाउनेवित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार घटना दुई दिनअगाडि भएको हुनसक्ने अनुमान गरिएको छ । कार्त्तिक ८ गते बिहानदेखि सो घरमा ताला लगाएको थियो । लामो समयसम्म घरको ताला नखोलेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारैजनाको विभत्सरुपले हत्या गरिएको अवस्थामा देखेका थिए ।
अहिले प्रहरीले घटना स्थललाई घेरा हाली अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदैछ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजाने प्रहरीले जानकारी दिएको छ।
हत्या गरिएकी महिलाले लगाएको गहना समेत चोरी भएको प्रहरीले बताएको छ। गहना निकालिएकाले धनमाल समेत चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
ती महिलाका श्रीमान् एक वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको छायानाथ रारानगरपालिका- ६ का वडा अध्यक्ष खेम रावलले जानकारी दिए ।