काठमाडौँ । इजरायल–प्यालेस्टिन द्वन्द्व युद्धमा परिणत भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् । लडाकु समूहले एकै पटक विभिन्न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गर्नुभएको छ । इजरायलले जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।
हमास लडाकुका आधार क्षेत्र लक्ष्यित हमलालाई प्रभावकारी बनाउन शंकास्पद ठाउँका बासिन्दालाई अन्यत्र पठाउन खोजेको हो । हालसम्म लडाकु समूह हमासको आक्रमणमा परी इजरायलतर्फ २ सय ५० जनाको मृत्यु भएको छ भने करिव १६ सयजना घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाको प्रत्याक्रमणमा परी २ सय ५० हमास लडाकुको मृत्यु हुनुका साथै सयौंको संख्यामा घाइते भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी हमलाको विश्व समुदायले निन्दा गरेको छ ।
प्रतिशोध आक्रमण गर्ने भन्दै इजरेलद्वारा गाजाबासीलाई घरबाट भाग्न चेतावनी
इजरेलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ ।
हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरेलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन् ।
दक्षिण इजरेलमा साइरनका आवाजहरू सुनिएका छन् । हमासले आफूले इजरेलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ ।
इजरेली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ ।
इजरेलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ । गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ ।
इजरेली प्रधानमन्त्रीको चेतावनी
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ ।
इजरेली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको थियो ।
इजिप्टसहित इजरेलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ ।
इजरेलले गाजामाथिको हवाई क्षेत्र र त्यहाँको तटीय क्षेत्रमा पनि नियन्त्रण कायम राखेको छ र उसले सीमाबाट के समान लैजान दिने या नदिने निर्धारण गर्छ ।
इजरेली सेना र हमास विद्रोहीहरूबीच लडाइँ जारी रहँदा प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकहरूलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ मा प्रवेश गरिएको बताए।
उनले ‘हमासले गरेको नृशंस आक्रमणले युद्ध थोपरिदिएको’ भन्दै केही घण्टामा पहिलो चरणको लडाइँ समाप्त हुने र त्यसमा इजरेली भूमिमा रहेका अधिकांश विद्रोहीहरू समाप्त पारिने बताए ।
हमासले इजरेलको दक्षिणी क्षेत्रमा शनिवार घुसपैठ गरेको थियो र त्यसयता उसले ३०० भन्दा बढीको हत्या गरेको छ ।
इजरेलले गरेका जबाफी हवाई हमलामा २३० जना भन्दा बढीले ज्यान गुमाएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती आक्रमणमा १,००० भन्दा बढी मानिस घाइते भएका छन् ।
इजरेली सेनाले उल्लेख्य रूपमा आफ्ना नागरिक र सैनिकलाई बन्धक बनाइएको उल्लेख गरेको छ । त्यसमा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरू रहेको उसको भनाई छ। एक जना सैनिक प्रवक्ताले कतिपय जीवितै रहेको र कतिपय मारिएको हुनसक्ने बताए।
यसैबीच संयुक्त राज्य अमेरिकाको हवाई सेवा नियामक निकायहरूले इजरेली हवाई क्षेत्रमा उडान भर्दा ‘एकदमै सावधानी’ अपनाउन अमेरिकी वायुसेवा र विमान चालकहरूलाई अनुरोध गरेको छ।
अमेरिकी विदेशमन्त्रालयले पनि इजरेलमा रहेका आफ्ना नागरिकलाई चनाखो हुन र सुरक्षा बढाउन भनेको छ । बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनका अनुसार पुस्तौँपछि सीमापारिबाट आफूले भोगेको सबैभन्दा गम्भीर आक्रमणलाई लिएर इजरेल आश्चर्यमा परेको थियो ।
उनका अनुसार महिनौँदेखि प्यालेस्टिनी सशस्त्र समूह र इजरेलबीच तनावले विस्फोटक रूप लिन सक्ने जोखिम प्रस्ट देखिएका थिए ।
इजरेली र प्यालेस्टिनीहरूको तनाव वेस्ट ब्याङ्कमा केन्द्रित थियो जून भूगोल जेरुसलेम र जोर्डनको बीचमा पर्छ। उक्त भूमि इजरेलले सन् १९६७ यता अधीनस्थ गरेको छ र त्यहाँ वर्षभरि हिंसा र मुठभेड भएका थिए ।
सशस्त्र प्यालेस्टिनीहरूले इजरेली सैनिकहरू र त्यहाँ बसेका यहुदीहरूलाई आक्रमण गरेका र इजरेली सेनाले कैयौँ कारबाही गरेका विवरणहरू आएका थिए । तर कसैले पनि हमासले गाजा भन्दा बाहिर यस्तो जटिल र संयोजित कारबाही गर्ला भन्ने नठानेको बीबीसीका अन्तर्राष्ट्रिय मामिला सम्पादक बोवेन बताउँछन्।
एक जना हमासका कमान्डर मोहमद डिफले उक्त समूहले ‘अति भनेको अति हो भन्न चाहेको’ बताएका छन् ।
– वीवीसीनेपालीसेवाबाट

























