काठमाडौँ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी सयौं मानिस मारिएको आशंका छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।
तीन सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइए पनि हालसम्म १ सय २० जनाको मृत्यु भएको मात्र पुष्टि भएको छ ।
६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका तीन वटा शक्तिशाली परकम्पका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन् । भत्किएका घरका भग्नावशेषभित्र धेरै मानिस च्यापिएको आशंका गरिएको छ ।
अफगानिस्तानको पश्चिमी शहर हेरातबाट ४० किलोमिटरको दूरीमा रहेको इरानको सीमा क्षेत्र नजिकको क्षेत्र भूकम्पबाट बढी प्रभावित छ ।
आफ्नै आँखा अगाडि आफू बसिरहेको घर तीव्र गतिमा हल्लिएको र हेर्दा हेर्दै भत्किएको भन्दै भूकम्प अत्यन्त त्रासदीपूर्ण र भयानक भएको सो क्षेत्रका स्थानीयले बताएका छन् । हेरातको केन्द्रीय अस्पतालमा घाइते भएकाहरुको ठूलो चाप छ ।
अफगानिस्तानमा प्राकृतिक विनासको ह्दयविदारक दृश्य देखिएको छ । भत्किएका भवनका कारण सडक अवरुद्ध हुँदा उद्दारमा समेत कठिनाई भइरहेको छ । एजेन्सी
























