सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।
सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण केही घण्टा ढिलो सुरु गरिएको अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले बताएका छन् ।
आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म भएको मतदानमा ६०९ जना सहभागी भएका थिए ।
प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् । शाह र शाहीले छुट्टाछुट्टै प्यानल बनाएका थिए ।