काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी आज काठमाडौं आइपुग्दैछ । भदौ २४ गतेदेखि असोज १२ गतेसम्म नगरकोटमा हुने नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि बन्दोबस्तीका सामग्रीसहित अमेरिकी सेनाको टुकडी आउन लागेको हो ।
अमेरिकी सेनाको टोली अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाली सेनाले जानकारी दिएको छ । उक्त विमान भने भोलि नै फर्किने बताइएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको यो ४०औं संस्करण हो । अभ्यासमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सहभागी हुने छन् ।
नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासमा गर्दै आएको छ ।
यस्तै अभ्यासको सिलसिलामा सेनानी विवेक विक्रम शाहको कमाण्डमा १० सदस्यीय नेपाली सेनाको टोली भदौ २० गते बेलायत प्रस्थान गरेको थियो ।























