काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको थियो ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आज बिहान सामाजिक सञ्जालमा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । राजदूत शर्माले यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालले अहिले बर्खामा भारतलाई विद्युत विक्री गरिरहेको छ भने हिउँदमा भरतसँग विद्युत किनिरहेको छ ।
उक्त सम्झौता भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको अनौपचारिक जानकारी आएको उर्जा सहसचिव मधु भेटवालले जानकारी दिएका छन् । भारतले औपचारिक रुपमा जानकारी दिएसँगै भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता हुने छ।
‘२०१४ मै विद्युत् व्यापार सम्झौता भएको थियो। त्यसलाई नै सहयोग पुग्नेगरी नयाँ समझदारी हुन लागेको हो,’ प्रवक्ता समेत रहेका भेटवालले भने, ‘एकै पटक १० हजार मेगावाट विद्युत् जान उत्पादन छैन। उत्पादन भएपनि प्रसारणलाइन छैन।’
उनले अब विद्युत् खरिदको सुनिश्चितासँगै उत्पादन र प्रसारणलाइन लगायतका पूर्वधार निर्माणमा सहयोग पुग्ने बताएका छन् । नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी ल्याउने वातावरण बन्ने भेटवालले बताएका छन् ।
























