वीरेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कर्णाली मुलुकको समृद्धिको जग बन्ने बताएका छन् ।
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिको जग कर्णाली हुने बताएका हुन् ।
प्रधानमन्त्रीले कर्णालीको जल,जंगल,जडिबुटी,पर्यटनलगायतका प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिको जग कर्णाली बन्ने बताए ।
उनले संघीय सरकार मुलुकको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि कुनै कसुर बाँकी नराख्ने गरी काम गरिरहेको दाबी गरे ।
कार्यक्रममा कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने सहिद यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र हरिबहादुर कुवरलाई सम्झिदै नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा बलिदानी गर्ने सबै सहिदलाई सम्मान व्यक्त गरेका थिए ।
उनले आफू तत्कालै चीन भ्रमणमा जाने भएकाले चीन सरकारसँगको साझोदारीमा कर्णालीको विकास र समृद्धिका लागि ठोस पहल गर्ने जिकिर गरे ।