काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पु-याएकोप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय नरहेको बताए ।
सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनी सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको जानकारी समेत दिए ।
प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको स्मरण गराउँदै उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यस दिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी) को बुबा भएर बोलेँ । म अलिकति भावनात्मक छु । म थोरै भावनामा आएँ ।’
सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।




















