विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विस्तार गर्दै मन्त्रिपरिषद् ६ सदस्यीय बनाएका हुन् ।
मुख्यमन्त्री थापाले आइतबार थप ३ जना मन्त्री नियुक्त गरे । नेकपा (माओवादी केन्द्र)बाट मोरङका जीवन आचार्य र संखुवासभाका राजेन्द्र कार्की तथा नेपाली कांग्रेसबाट उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आचार्यको नेतृत्वमा माओवादी सरकारमा सहभागी भएको हो । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी यसअघि नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि पर्यटन,वन तथा वातावरण मन्त्री थिए ।
यसअघि शुक्रबार नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू र कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बनिसकेका छन् । आचार्यबाहेक अरु मन्त्रीहरु बिना विभागीय छन् । कांग्रेसबाट मन्त्री बनेका खत्री संस्थापनइतर अर्थात डा. शेखर कोइराला समूहका हुन् ।
पूर्वसहमतिविपरीत मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेको भन्दै गठबन्धनभित्र विवाद सुरु भएको छ । मन्त्री नियुक्तिलाई लिएर एकीकृत समाजवादीले आपत्ति जनाएको हो । समाजवादी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईका अनुसार सुरुमा सबै दलबाट एक–एकजना मन्त्री नियुक्त गर्ने सहमति थियो । पूर्वसहमति तोडेर मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेको राईले बताए ।
सहमति तोडेर अघि बढ्ने हो भने गठबन्धनबीचको सहकार्य तोडिन सक्ने र मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने चेतावनी उनको छ । मुख्यमन्त्री थापाले शुक्रबार गठबन्धनका सबै दलबाट एक–एकजना मन्त्री नियुक्तिको तयारी गरेका थिए ।




















