काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जुनै पार्टीसँग मिले पनि काँग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले काँग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरुबाट काँग्रेस डराउनु नपर्ने बताए । उनले काँग्रेसको मुख्य कुरा मिसन ०८४ हो भने सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके काँग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रह गरे ।
नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे । पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो । नेता पौडेलले चुनावका बेला प्रतिष्पर्धीले सोही पार्टीका बिरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेको भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे ।
नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्ने बताए ।




















